१०• काठमाडौँको आत्मियता

0 0 0
                                    

गाडीको चर्को हर्नले मौनता भंग गर्यो । उ मतिर फर्केर मुस्कुरायो, सायद ऊ अब आफ्नो भोलिसँग केही आशावादी थियो । घरी विगत सम्झिँदै त घरी भविष्य कल्पिँदै बाटो त काटियो तर जिन्दगी बसको यात्रा जस्तै सहज कहाँ छ र ! छेउको सीटको यात्रुमा भर पर्ने । उसो त जिन्दगीको कल्पनाको डोब नै हराईसक्यो, भविष्य खोज्न हिडेकी छु, मेरो भविष्य अनुमान गर्ने त्यस्तो प्रष्ट आधार पनि छैनन्, अब त्यही काठमाडौँको खाल्डोमा भविष्य खोज्न हिड्दैछु, म साँचीकै गम्भीर हुन्छु, गहभरी ऑशु हुन्छन्, लुकाउनकै लागि भएपनि झ्याल बाहिर हेरेझैँ गर्छु । घरी घुमाउरो त घरी उकालो गाडीले लामै बाटो तय गरिसकेछ क्यार । बेला बेलामा निदाउन खोज्दा थोरै कोल्टिएर टाउकोले कुममा स्पर्श गर्नु बाहेक उसले म माथि कुनै पुरूष स्वभाव देखाएन, जो अन्जान युवतीसँग रात्री बसमा अक्सर पुरूष मानसिकताले गर्न खोज्छ । म मन मनै अनुमान गर्छु, 'नाबालक सन्तान र माया गर्ने श्रीमती छोडेर बिदेशीनु अघिका रात, एक आपसमा बर्सौ पुग्ने माया साटासाट भए हुँदा हुन्, घरी एक्लोपनको कल्पना गर्दै श्रीमती रुँदी हुन् त घरी चाडवाडमा घरबाहिर हुनुपर्दाको कल्पनामा आफू रूँदा हुन्, सायद हिजोको रात अनिदै बित्यो होला दुबैको, मेरो जस्तै ।'

छोटो यात्रा मै पनि बढो आत्मियताको आभाष भयो । बिस्तारै काठमाडौँ नजिकिँदै छ । नपुग्दासम्म त बसिराख्नलाई बस छ, बस भरी मान्छे छन्, बराबर भाडा तिरेपछि सबैको हैसियत बराबर भाको छ तर, काठमाडौँ झर्नासाथ सबैभन्दा बेसहारा म नै हुनेछु, बसपार्कको घेरा बाहिरको परिधि मेरालागि नयाँ संसार र नयाँ जीवन हुनेछ । जब-जब अन्जान शहरमा बेसहारा अनि बिना पैसाको जीवनको कल्पना गर्छु तब कहाली लागेर आउँछ र पनि मनमनै, बाबा पशुपतीनाथको आराधना गर्छु, आफ्नो प्रेम अनि निराजनसँगको भेटको कल्पना र पुकार गर्छु, केही राहत महसुस हुन्छ । कहिले कसो जिन्दगी यती कठोर भइदिन्छ कि मन हारेर नौनीजस्तै कोमल भाइदिन्छ । गफको तालमा घण्टौं बितेको पत्तै भएन, झ्याल बाहिरको दृश्य हेर्दा काठमाडौँ पुगी सकेको आभाष भयो । ढोके भाइले छिटफूट यात्रुहरु झार्दै बिदा गर्दै गरे । सँगैका दाजुले पनि आफ्नो समान मिलाउदैँ सोधे, 'हजुर कहाँ झर्नु हुन्छ ? की बसपार्कसम्मै हो ?' मैले जवाफमा भनेँ, 'हजुर हो, म बसपार्कसम्मै हो उतै नजिक पर्छ (त्यहाँबाट पनि अनन्तै थियो तर पनि मन मनै भने बाबा पशुपतीनाथ तिम्रै शरणमा आउँदैछु है) । केही बेर मै कोटेश्वर भन्ने ठाउँ आयो, सँगै बसेका दाजु हात हल्लाउँदै झरे र भने, 'ल राम्रोसँग पढेर ठूलो मान्छे हुनु है ।' बदलामा मैले उनलाई पनि 'आफ्नो ख्याल गर्दै काम गर्नु, भविष्य उज्वल बनाउनुस् है' भनेँ । त्यसपछि एक कोल्टे फर्केर हेरेका के थिए गाडीले गती लिइहाल्यो अनि उनी ओझेल परे । मनमनै कुरो खेल्यो अब म पो के गर्नु ? गन्तब्य नपुग्दासम्म पो सिटको बास, गन्तब्य पुगेपछि पाटीमा पनि बास पाइने होकी होइन, जिन्दगी जीउन निस्केकी म, हेर्दै जाउँ जिन्दगी जीउन कतिसम्म गार्हो हुँदो रहेछ । बनावटी हाँसो हाँसेर आफूमा साहस भर्ने कोशिस गर्छु । दुःखी, गरीब र असहायले आश्रय पाएको पशुपतीनाथ कै पहिलो दर्शन गरेर यो खाल्डोमा जिउने अदम्य साहस बटुल्ने योजना भयो । काठमाडौँ मेरा लागि पुरै नौलो छ, नजानेको कुरामा घमन्ड गर्नुको केही अर्थ छैन । गाडी चढ्दा मलाई सघाउने भाइलाई खुसुक्क भनेँ मलाई बसपार्क झर्नासाथ पशुपतीनाथसम्म जाने बस चढाइ दिनु ल । उसले 'ल ल हुन्छ, ढुक्कले बस्नुस्' भन्यो ।

जेनतेन उसको सहायताले म पशुपतीनाथको गेटसम्मै आइपुगेँछु । बसबाट झरेर मन्दिर तिरै लागेँ । अब जिन्दगीको यात्रा सुरु भो त्यो पनि पैदाल, निकै मन्द गतीमा । समाजको ठक्कर र चोटले यो मन्द गती पनि कतै कुनै दिन हराएर जाने त हैन ? बढो चिन्तापूर्ण यात्राको आरम्भ भयो । मन्दिर, पेटी, टुँडाल, तिर्थालु अनि आर्यघाट मैले पशुपतीनाथको सेरोफेरो एकएक नियाल्दै हिडेँ । भोकै दर्शन गरे फल पाईन्छ भन्ने हाम्रो मनसिकतालाई खन्डन गर्दै रातदिन भोकै मन्दिरका पेटीहरुमा बसेर पशुपतीनाथको दर्शन गर्नेहरु पनि टन्नै रहेछन् त्यहाँ, मलाई मन्दिरसँग पनि केही खास आश रहेन । म मन्दिर भन्दा पनि मन्दिरको आश्रयमा बस्नेहरु नियाल्न थालेँ । असहाय, अपाङ्ग, बुढाबुढीदेखि साधु, सन्त अनि गाजा, चरेसका ब्यापारी । मन्दिर पनि सबैले आ-आफ्नै अनुकुल प्रयोग गर्दा रहेछन् ।

आर्यघाटदेखि गुहेश्वरीसम्म पैदल यात्रा सकेपछि अब काठमाडौँ हेर्न मन लाग्यो । कता जानु कसरी जानु भयो मलाई । पैदाल हिड्दै अघि आएकै बाटो तिर लागेँ । किताबको भरमा काठमाडौँका केही नामहरु सुनेकी थिएँ अब तिनै नामको सहारामा हिंड्नु पर्यो भन्ने सोचेँ । छेउ मै लागेको माइक्रोले रत्नपार्क भन्दै कराउँदै थियो, त्यसैमा बसेँ । २-४ छाक सादा भात खान र एक दुई दिन बस चढ्न पुग्ने पैसा सायद त्यही मेलापातको कमाइले नै पुग्थ्यो होला तर त्यसपछि चाहिँ जागीर खोज्नु पर्छ, यत्रो ठूलो शहरमा सानो तिनो काम कसो नपाइएला र ! कामको भन्दा पनि यो शहरमा मलाई निराजनको खोजी बढी आवश्यक थियो, यदि कसै गरी उ भेटियो भने सायद मेरा समस्या सुल्झेलान्, त्यसैले मेरो आँखा कुनै कलेजको ड्रेसमा उभिएको युवक देख्ना साथ त्यतै गइहाल्थे । कतै निराजन नै पो हो कि भने झै लाग्थ्यो । हेर्दा हेर्दै माइक्रोले रत्नपार्क भनिहाल्यो, म आफ्नो कपडाको गुटुरो बोकेर ओर्लिएँ । बेरोजगारहरुको गतिलो चौतारी रत्नपार्कमा ।

बारवाली र डायरिWhere stories live. Discover now