novel

11 1 0
                                    

बन्द हुनु नौलो रहेन । बिजुली जाने दिन अंध्यारोमा बस्ने आदत भैसक्यो । ग्यास-तेल लिने लाइनमा नबसे खाएको नपच्ला । चामलको भाउ घट्दैन, कर्मचारीको तलब बढ्दैन । मल सुलभ नभएको चिन्ताले किसानलाई पिरोल्छ, कारखानाका पाट-पुर्जामा भन्सार छुट नपाए भारतीय सामानसँग प्रतिस्पर्धा गर्न नसकिने पिरले उद्ध्योगपती-व्यापारी दुखी छन् । कर्मचारी, किसान,व्यापारीमात्र होईन सबै वर्ग-तप्काका मानिसहरू निरास छन् किनकी समाजमा समस्याको कमी छैन । समस्या जुनसुकै वर्गको किन नहोस् जो कोहिलाई सोध्नुस् - दोष कस्को ? जवाफ सिधा आँउछ - ' अनुत्तरदायी र बेइमान नेताहरू '। फेरि सोध्नुस् - उपाय त अवश्य होला ? जवाफ फेरि सिधा आँउछ - ' अनुत्तरदायी र बेइमान नेताहरूलाई घोक्रेठ्याक लगाउ, देश अवश्य बन्छ' । हाम्रा नेताजन इमान्दार र उत्तर्दायी छैनन् र हामीले झेलेका अनेकन समस्याका लागि जिम्मेवार छन्, त्यसमा कुनै बिवाद होइन । तर नेतालाई घोक्रेठ्याक लगाउ देश कायापलट हुन्छ भन्ने सोच्नु भ्रम पाल्नु मात्र हो । आजका बेइमान नेताहरूले राजनीतिबाट बिश्राम लिनु पर्छ त्यसमा कुनै प्रश्न छैन तर अनुहार बदल्नु मात्र हामीले झेलेको समस्याको दिगो समाधान हुँदै होईन किनकी आज अनुहार बदलेर मात्र भोलि जन्मने नेता इमान्दार र उत्तरदायी हुन्छन् भन्न कदापी सकिदैंन ।भनिन्छ समस्या समाधान प्रक्रियाको महत्त्वपुर्ण खुड्किलो भनेको समस्याको प्रमुख कारकको सहि पहिचान हो । बेइमान नेताहरू हामीले झेलेको समस्याका लागि दोषी छन् तर हामीले अनुहारलाई प्रमुख ठानेर समस्याको प्राथमिक कारककोगलत पहिचान गरिरहेछौँ । यसको सहि पहिचानका लागि र समस्याको दिर्घकालिन समाधानका लागि दुई अहम प्रश्नको उत्तर खोज्नु आवश्यक छ - नेतालाई नेता कस्ले बनायो ? र ती नेता कसरी र किन बेइमान र अनुत्तरदायी भए?नेतालाई नेता कस्ले बनायो?आफूलाई चित्त बुझ्दो चुनाव चिन्हमा छाप हानेको मतपत्र मतपेटिका भित्र खासलेर चुनाव हामीले जितायौँ र हाम्रो नेता चुन्यौँ । उद्घाटन गर्न हामीले बोलयौँ, धागोमा फूल हामीले उन्यौँ । नेताले त फूल मालाका लागि टाउको मात्र थापे र हाँसी-खुशी रिबन काटिदिए । फुस्रो भाषण छाट्न नेताले आमसभा गरे । चर्को घाममा तालु हामीले सेकायौँ । आफ्ना सिद्धान्त र मान्यता भन्दा भावोत्तेजनामा हामीले आफ्नो पखेटा ज्यादा फिजायौँ । हाम्रो समबेदनामा प्रहार गर्न खरिएका नेताले आफ्नो स्वार्थ-पुर्तीका नीम्ति जाल फिँजाय । नेताले चिया-पानीको लोभ देखाए, फाट्ट-फुट्ट मान्छे हामीले कुट्यौँ । नेताले चिल्ला बाणि फ्याँके, लहै-लहैमा इट्टा- ढुङा हामीले फ्याक्यौँ । टायर हाम्रै हातले सल्काए । सडक अझै तातो छ । हाम्रो रगत पनि सेलाएको छैन किनकी देश बिगारेकोमा हामी अझै टाउके नेता तीर धारे हात लगाइ रहेछौँ । एकपटक सोचौँ त - नेतालाई नेता कस्ले बनायो?दोष हाम्रो हो किनकी हामीले अक्षम ब्यक्तिलाई हाम्रो नेता बनायौँ । र दोषहाम्रो यसकारण पनि हो कि एकप्रकारले हामीले हाम्रा नेतालाई देवत्वकरण गरिदियौँ । हामीले आफ्नो चेतना र स्व-विवेक प्रयोग नगरि नेताका सबै कुरामा हँ मा हँ मिलाईदियौँ । त्यसको गलत फाईदा उठाउँदै नेताले आफ्ना गलत बिचारहरू हामी माझ लाद्न सफल भए र आफ्नो स्वार्थ-पुर्तीका नीम्ति हामीलाई प्रयोग गर्न सफल भए । हामीले नेतालाई आँखा चिम्लिएर विश्वास गर्यौँ र हाम्रा नेताजनले हामीले गरेको विश्वास माथि विश्वासघात गरे, बेइमानी गरे ।यसले हामीलाई अर्को प्रश्न तर्फ लैजान्छ - हाम्रा नेता किन बेइमान भए? धेरैले दोष राजनीतिलाई दिन्छन् र तर्क गर्छन् हाम्रो देशको फोहोर राजनीतिमा अभ्यस्थ भएकालेहाम्रा नेताहरू बेइमान भए । राजनीतिशास्त्रको एउटा स्थापित मन्यता छ की राजनीति एउटा फोहोरी खेल हो । हाम्रो कन्तिपुर नगरीमा मात्र होईन संसारभर हेरौँ राजनीतिका प्राय खेल फोहोरी हुन्छन किनकी सिधा औँलाले घिउ कहिल्यै आँउदैन । तर हाम्रो राजनीतिमा खेल मात्र होईन निति दुषित छ, राजनैतीक संस्कार धमिलो छ । त्यही राजनैतीक संस्कारले हाम्रा नेताहरूलाई इमान्दार हुन सिकाएन, उत्तर्दायी बनाएन र दूर देख्न घच्-घच्याएन । अब प्रश्न खडा हुन्छ - कस्ले बनायो यो संस्कार? को हो यसको माली, कस्ले मल-जल गरिरहेछ यसलाई ? उत्तर तितो छ । राजनैतीक संस्कार हाम्रो समाज भन्दा भिन्न कतै उत्पत्ती भएको होईन, न त यो हाम्रो समाज भन्दा भिन्न कतै स्थापित प्रवृतिहरूबाट निर्देशित भएको हो । यो त हाम्रा समाजका सहि र गलत दुबै किसिमका मन्यताहरूलाई अँगालेर बिकसित भएको हो । तर एउटा यथार्थ - यसमा हाम्रा समाजका गलत प्रवृतिहरूको हाली-मुहली छ ।हाम्रो समाजलाई एक पटक नियालौँ, दूधले कहाँ नुहाएको छ र हाम्रो समाज? कसैले सफलताको सिँढी चढोस् खुट्टा तान्न खोज्ने धेरै निस्किन्छौ । अरुको राम्रो कामको प्रसंशा गर्न सधैं हिच्-किचाउँछौ । चिया पसलमा हुने मिरमिरे गफहरूमा कुरा ठुला हुन्छन् तर काम गर्न सक्ने ताकत र हिम्मत कसैको हुदैन । हामी हाम्रो सामाजिक उत्तरदायित्व निर्बाह गर्न सधैं डग्मगाउंछौ । पैसाको मुख देख्नु मात्र पर्छ , इमान बेच्न पछी नपर्नेहरूको कमी छैन । हाम्रो समाजका पेसाकर्मीहरूलाई हेरौँ । कर्मचारीलाई हाकीम रिझाउँदै फुर्सद छैन, व्यापारी कृत्रिम अभाव सिर्जना गर्न सके भाउ बढ्ला र नाफा कमाउँला भन्ने आशमा तेल- चामल लुकाउन ब्यस्त । कारखानाका मालिक मजदुर ठग्न खोज्छन र मजदुर काम ठग्न । डाक्टरलाई आफ्नो क्लिनिकमा हाजिर बिरामीकोस्वास्थ्य भन्दा बढी संख्याको चिन्ता छ । बाटो-घाटो नभत्किए ईन्जिनियरलाई निन्द्रा नपर्ला । पत्रकार पत्रीका बिकाउन तातो समाचार खोजिरहन्छन, भलै त्यो समाचारले समाजमा नकारात्मक असर किन नपरोस ।सबै कर्मचारी, व्यापारी, मालिक, मजदुर्, डाक्टर, ईन्जिनियर, पत्रकार इमान्दार छैनन्, पक्कै होइन । तर हाम्रो समाजको एउटा महत्वपूर्ण हिस्सा न त आफ्नो समाज प्रति उत्तर्दायी छ न त आफ्नो पेसामा इमान्दार । सबै पेसामा स्थापित यी दुई गलत प्रवृतिहरू - समाजप्रतिको अनुत्तरदायीपन र पेसागत बेइमानी - को संयुक्त र भयानक रूप मात्र हो काठमाडौं र सिङ्हदरबार भित्र मौलाएको राजनैतिक संस्कार । त्यसैले एउटा आम नागरिकले सामाजिक उत्तरदायित्व र पेसागत इमान्दारी बहन गर्ने संस्कार स्थापित नभएसम्म हाम्रो राजनैतिक संस्कारमा लागेको मैलो कहिल्यै हट्नेछैन र हाम्रा नेताहरू सधैं बेइमान र अन्नुतर्दयी रहिरहनेछन । किनकी जब सम्म हाम्रो समाज नितिवान हुन सिक्दैन/सक्दैन तबसम्म राजनीतिमा बिदुर-निती असम्भव प्राय: छ ।निस्कर्ष? मुहान सफा नगरि नहर सफा हुदैन । जरामा विष सिन्चाइ गरेर अमृत फल टिप्ने सपना नदेखेको बेस् । हामीले झेलेका समस्याका लागि नेताहरू जिम्मेवार छन् र आजका अनुत्तरदायी र बेइमान नेताहरूले राजनीतिबाट सन्यास लिनु पर्छ तर भ्रम नपाले हुन्छ - समस्याको प्रमुख कारक अनुहार होइन र समस्याको दिर्घकालिन समाधान नेता परिवर्तन होईन। नेतालाई त हामीले नेता बनायौँ र राजनैतीक संस्कारले अन्नुत्तर्दयी र बेइमान बनायो । राजनैतीक संस्कारलाई हाम्रो सामाजिक संस्कारले मल-जल गरिरहेछ । त्यसैले हाम्रो समस्याको दिर्घकालिन समाधान भनेको चेतना र स्व-विवेक प्रयोग गरेर हिजोको समिक्षा गर्दै भोलिका लागि जिम्मेवार निर्णय लिने अभ्यास थाल्नु र सिङ्दरबारभित्रको राजनीतिलाई दोषको भारी बोकाउन छाडेर आफ्नो समाजबाट शुद्धिकरण थाल्नुनै हो । अन्तत अब औँला नेता र राजनीति तिर भन्दा ज्यादा आफै तिर र आफ्नो समाज तिर ठडाउने बेला आएको छ । सबैलाई चेतना भया ।

You've reached the end of published parts.

⏰ Last updated: Aug 27, 2015 ⏰

Add this story to your Library to get notified about new parts!

novelWhere stories live. Discover now