साँझको लज्जा अधेँरी, कतै धिप-धिप त कतै झकमक्क बलेको काठमाडौं । चारतले घरको सेपिलो कोठा, बेरोजगारीमा पिल्सिएको म अनि प्रेममा रुमलिएको मेरो रुम पार्टनर । गाउँबाट ल्याएको भटमास र आलुको तरकारीसँग मोबाईलको उज्यालोमा बेलुकाको छाक टारेपछि जुठो भाँडो बाटामा खाँदेर हामी आफ्नै तुनेलोमा निस्कने तयारीमा छौँ । उसो त ऊ अक्सर खाना सकिनुसँगै मोबाईलमा खासखुस सुरु गरिहाल्थ्यो आज सायद रिचार्ज सकिएछ क्यार मसँगै बाहिर निस्कियो । ऊ त्यही नजिकैको पसल तिर सोझियो म चाहिँ केही बेर सितल-पैदल गरेर फर्कने सोचले अघि बढेँ ।
महाबौद्धको साँघुरा गल्लीहरुमा घरी बोनस र कमिशन सम्झँदै मुस्कुराउँदै हिडेका कर्मचारी त घरी नाम्लाले थिचिएको टोपीले पसिना पुछ्दै हिँडेका भरियाहरुसँग ठोक्किँदै चुरोटको तल्तल मेटाउन निस्केको म भिड छिचोल्दै ठमेल तिर सोझिँदै थिए । उसो त ठमेलका डिस्को र बारहरुमा छिर्नु मेरो न त योजना नै छ न त अनुभव नै । दिनभरीको बेरोजगारी दौडसँगै खाएको हन्डर र ठक्कर पचाउन भनेर अर्काको सुख हेर्न निस्केको म अभागी ।
अभाव र तनावले भरिएको विद्यार्थी जीवन, जेनतेन दोस्रो श्रेणीसम्म ल्याएर पास गरेको बिबिएससम्मको प्रमाणपत्र, काठमाडौंको बसाइ अनि किसानको छोरो । जागिरको लागि न त गतिलो प्रमाणपत्र थियो न त पहुँच नै । कैयौँ कार्यालय र कम्पनीहरुमा धाउँदा पनि जागिर खान नपाएको झोँकमा सिग्रेट खान सिकेको मलाई हिजो आज लतजस्तै भएको छ । लेखाइ, पढाई छैन कोठामा न त बसेर टिभि हेरौँ भन्नु छ, न त उज्यालोमा कुनै पुस्तक नै पढौँ भन्नु छ । उसै त काठमाडौं, त्यसै माथि सधैंको लोडसेडिङ, खाना खानसाथ निन्द्रा पर्दैन । समय काट्न कै लागि भए पनि केही बेर बाहिर ननिस्की हुँदैन । त्यहीमाथि यो चुरोटको लत, पोलेमाथि अगुल्टो भाको छ, बेरोजगारलाई पैसाको खनारो । उसो त २ मुठा साग रु ५ मा दिनुन भनेर सागवाली आन्टीसँग गनगन गर्ने मेरो रुम पर्टनर पनि हर साँझ रु १०० त फोन मै फाल्छ । गफ पनि कति आको कहिले त आधारातसम्म पनि फोन मै बोली रहेको हुन्छ । समय र पैसाको नास, हुँदो न खाँदो । त्यही फोन सुन्नका झ्याउले पनि म हरदिनजस्तो बाहिर निस्कन्थें, अनि निन्द्रा आउला जस्तो भएपछि गएर लुसुक्क सुतिदिन्थेँ ।