दुःख, सुख गर्दै भए पनि बुबाआमाले मलाई विद्यालय पठाएकै थिए, म पनि राम्रै मेहनतसँग पढ्दै थिएँ । तर म कक्षा ५ मा पुग्ना साथै माइलो दाई साथीका लहैलहैमा लागेर पढाई छोडेर इन्डिया तिर भागे । केही समय त सम्पर्क मै आएनन् । र सम्पर्कमा आएको केही वर्षसम्म कमाइ घरमा भित्रेन पनि । म कक्षा ५ मै हुने बेला नै आमाले भाइ जन्माएकी, सन्तानसँगै घरमा समस्या बढ्दो । म जेनतेन कक्षा ८ सम्म पुगेकी के थिएँ अब पढाउन सक्दैनौ भन्ने कुरा गर्न थाले । एकदिन आमाले नै मुखै फोरेर भनिन्, 'सबै स्कुल हिनेर घर चै कसरी चल्छ नि ! अब सानो भाइलाई पनि पढाउनु पर्छ ।' जब सानो भाइको कुरा निस्कियो म गम्भीर भएँ, जसरी भए पनि बहिनीको पढाई सुचारु गर्नु पर्छ भनेर म माथिका दाजुहरु नबोले पनि भाइको लागि म आफ्नो पढाई रोकी दिन तयार थिएँ, ऊ म भन्दा सानो छ, हुन त बहिनी नै भएको भए पनि म उसको लागि आफ्नो पढाई रोकी दिन्थेँ । त्यसै माथि मलाई भाइको साह्रै माया लाग्थ्यो, कान्छो भएर हो वा भाइ भएर हो मलाई उसको साह्रै माया लग्थ्यो । मैले आफ्नो पढाई रोकेरै भए पनि भाइको पढाई सुरु गर्ने प्रण गरे । किनकि सानालाई बाटो देखाउनु र अवसर दिनु ठूलाको कर्तब्य हुन आउँछ भन्ने मलाई थाहा थियो । तर मेरा दाजुहरुले त्यसो गरेनन्, छोरा भएर हो वा मन नै स्वर्थी भएर हो त्यो उनीहरु नै जानुन् । यसरी मेरो औपचारिक पढाई कक्षा ८ मा प्रथम भएसँगै रोकियो । मन भरी झोला र किताब बोक्दै आमासँग मेलापातहरुमा लतारिएँ । घरको छाक र भाइको भविस्यको नाउमा ।
यसैगरी मेलापातहरु मै अक्सर दिनहरु बित्ने गर्थे । कहिले नवविवाहिताहरुको लजालु रातको अनुभव त कहिले वर्षौदेखी श्रीमान बिदेसिएकाहरुको पिडादायक गुनासो । मेलामा समय कहिले दिन भरी हाँसेर त कहिले अरुकै पिडामा गम्भीर भएर बित्थ्यो । तर जब मेला सकिन्थ्यो वा स्कुले विद्यार्थीहरुमा आँखा पर्थे तब पढ्न नपाउनुको पिडा उर्लेर आउँथ्यो । केही पल्ला गाउँका केटी साथीहरु बाहेक मेरो नजिकैको साथीहरुमा निराजन नै थियो त्यो पनि आफ्नै गाउँको । ऊ एसएलसीको तयारीमा थियो, यता म भने दिनभरी मेला र पात । सरासर स्कुल जान पाएको भए सायद म पनि अहिले एसएलसी परीक्षाको तयारीमा दिन रात तल्लिन हुने थिएँ होला, के गर्नु छोरीको कर्म त्यो पनि गरीबको कोखीमा । यसरी मेला पात र घास दाउरा नै दैनिकी बनी सकेको थियो । अब त पढ्न नपाउनुको पिडामा छट्पटाउन पनि छोडिसकेकी थिएँ, नियतीसँग हार मानेर बसेकी । म मेला र घासपातबाट फर्किँदा कहिले काही निराजनसँग बाटोमा भेट हुन्थ्यो, हामी डोको बिसाएरै धित मरुन्जेल गफ गर्थ्यौं, ऊ अक्सर बच्पनका रमाइला क्षण सम्झाएर मलाई हसाउने प्रयास गर्थ्यो । दैनिक स्कुल जान नपाए पनि केही ज्ञान गुनका कुरा ऊ मसँग साटिहाल्थ्यो । 'पढ्न नपाए पनि पिर नगर म छँदैछु' भनेर आस्वस्त पार्थ्यो, अनि म पनि ढुक्क भए झैँ गर्थेँ । यसरी उमेरसँगै हाम्रो मित्रता पनि प्रेममा परिणत भइसकेछ ।