सरिताको कलकल अनि पवनको हलचलको तारल्य अनि प्राकृत अवस्थामा भावनात्मक विलासको लागि मजस्तै कलम समाउने सिकारु साहित्यानुरागीदेखि क्रुर आतंङ्ककारी सम्मका तमाम मानवहरु ‘प्रेम’ शब्दसँग परिचित छन् । तर ‘प्रपोज’, ‘गिफ्ट’ आदानप्रदान “डेटिङग” र अन्त्यमा ‘ब्रेकअप’ फेसन बन्दै गएको छ । प्रेम सम्बन्ध अगाडि बढाउन अघि नै पछि आवश्यक परे ब्रेकअप कसरी गर्ने भन्ने बारेमा ‘स्टुडेन्ट लाइफ’ कै छात्रछात्राहरुले सोच्न थालिसकेका हुन्छन् । यस किसीमको छाडा संस्कारले अन्ततोगत्वा भासमा पार्छ नै ।
जब मानव मस्तिष्क कसैको नराम्रो पक्षतर्फ मात्र एकाग्र हुन्छ तब द्वेषको विकास हुन्छ तर त्यसको प्रतिलोम आदर्श व्यवहारमा केन्द्रित हुदा प्रेमाभाव उत्पन्न हुन्छ । उसो त मानव आदर्श हुन सक्दैन किनकि रोज खुशी रहन उसले स्वार्थलाई अघि बढाउनै पर्छ, जसले गर्दा पल प्रतिपल हामीले परोक्ष–अपरोक्ष रुपमा धेरैलाई चोट पुर्याइरहेका हुन्छौं । मानव सबै आखिरमा तन्तु र हाडको कलेवर न हो । मानवमा आत्मियता भन्ने चिज खोक्रो हुदैछ । वास्तविकता के हो भने संसारमा मानवले कसैको प्रेमको लालसा नगरि अघि बढ्नु उचित हो ।
विधिको विधान अपरम्पार छ । त्यसैले त उदेकको संयोगले मानव प्रेममा अन्धो बन्छ । माहुरी समान एकल जीवनमा प्रत्येक पल मेहनत गर्नुमा जीवनको रसरङ्ग छैन । त्यो त केवल यान्त्रिकता हो । मानव बढि विवेकशील भएको कारण उसले आफ्नो खुशीको बाटो रोज्न सक्छ । अनि सर्वोच्च सन्तुष्टि सफल प्रथम प्रेमबाट प्राप्त हुन्छ । विडम्वना, असफल प्रथम प्रेमले गर्दा दोश्रो प्रेम सफल हुनु विरल छ ।
जब एक जोडी आत्मा एक अर्कामा समाहित हुन्छन् तब उनीहरुको आत्मिक संसर्ग सफल जीवनको उर्जा बन्छ । त्यो प्रेमार्द उद्भावनाले गर्दा व्यक्ति तुरीय (Self-conscious) अवस्थामा पुग्दछ जहा आफूप्रति आदर हुन्छ अनि कसैसँग व्यक्ति तौलिदैन । त्यहा एक व्यक्तिमै संसारको तमाम रुप देखिन्छ र सम्पूर्ण अभिलाषाहरुको साकार रुप पनि । परमसुख (Unconditional happiness) प्रेममा मात्रै प्राप्त हुनसक्छ, चाहे त्यो आफ्नो जननीसंग होओस्, परमेश्वरसंग होओस् वा विपरीत लिङ्गीसंग नै किन नहोओस् ।
प्रेमको मार्ग सजिलो छैन । कठिन परिक्षाहरु पार गर्दै सफल भएको प्रेम मात्रै सफल हुन्छ । हृदयको प्रत्येक स्पन्दनमा आफ्नो प्रेमीजनको नाम–गाम भुलाउन संयमको खाचो पर्छ । गहिरो निद्रा विरलै हुन्छ र स्वप्नमा उसलाई देखिदा व्यक्तिले अपार आनन्दको महशुस गर्छ । यो यात्रा बडो सुस्त हुन्छ । धैर्य, आशा र भरोसा नै प्रेमको जड हो ।
प्रेम गन्तव्यहीन हुन्छ । प्रेममा योजना बन्दैन । प्रेमले प्रेमीजनको त्यागको इच्छा गर्दैन तर सुःख–दुःखका अनन्य हिस्सेदार बन्न लालायित हुन्छ । एकल होओस् वा युगल, प्रेमको मार्ग धेरै कष्टप्रद हुन्छ । प्रेम भौतिकता भन्दा आत्मियता रम्ने इच्छा हुन्छ । प्रेम संयोगबाट सुरु भई जीवनको अन्त्यमा अन्त्य हुन्छ । प्रेम पुजा हो, ईश्वर हो अनि घोर तपस्या हो ।
आप पढ़ रहे हैं
सुनसान यात्रा
Humorकट्टर भौतिकवाद र उदार अध्यात्मवाद बीच क्षितिज बनि साइनो गास्ने किसिमका निबन्धहरुको सङ्कलन गरिएको हुँदा ‘सुनसान यात्रा’ सम्पूर्ण उमेर समूहका साहित्यानुरागीहरुको लागि रुचिकर साहित्यक खुराक बन्नेमा विश्वस्त छु । कास म प्रेमार्द गीतको मझेरीमा आफुले चाहे...